काठमाडाैं- साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएकाे खेलमा जित हात पारेकाे छ।
राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै मुम्बईले तेस्रो जित निकालेको हाे। जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो।
मुम्बईका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए।
यता, क्रुनाल पाण्ड्या २६ बलमा २ चौका र २ छक्कासहित ३९ रनमा आउट भए। काइरन पोलार्ड ८ बलमा २ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे।
ओपनर रोहित शर्मा १४ र सूर्यकुमार यादव १६ रनमा आउट भए।
राजस्थान रोयल्सका क्रिस मोरिसले २ विकेट लिए। उनले ४ ओभरमा ३३ रन खर्चिए। यता, ३.३ ओभर बलिङ गरेका मुस्ताफिजुर रहमानले ३७ रन दिएर १ विकेट लिए।
त्यसअघि दिल्लीमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनायो।
राजस्थानका कप्तान सञ्जु स्यामसनले सर्वाधिक ४२ रनको योगदान दिए। उनले २७ बलमा ५ चाैका प्रहार गरे।
विकेटकिपर जस बटलरले ३२ बलमा ३ चौका र ३ छक्कासहित ४१ रन बनाए। यशस्वी जैसवाल २० बलमा २ चौका र २ छक्कासहित ३२ रनमा आउट भए।
शिवम दुबे ३१ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा समेटिए। डेविड मिलर ७ र रियान पराग ८ रनमा अविजित रहे।
मुम्बईका राहुल चाहरले २ विकेट लिए। उनले ४ ओभरमा ३३ रन खर्चे। ट्रेन्ट बोल्ट र जस्प्रित बुमराहले १/१ विकेट लिए। उनीहरुले क्रमश: ४ ओभरमा ३७ र १५ रन खर्चिए।
जितसँगै मुम्बई ६ अंक बटुल्दै चौथो स्थानमा छ। राजस्थान ४ अंकसहित सातौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।