काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना संक्रमण भएकामध्ये ७५ प्रतिशत भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर आएका व्यक्तिहरू रहेको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुम्भ मेलामा नेपालका एक लाखभन्दा बढी मानिस सहभागी भएको र फर्केकामध्ये ७५ प्रतिशत बढी संक्रमित भएको पाइएको छ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उक्त मेलामा एक सय भन्दा बढी विशिष्ट व्यक्तित्वहरू पनि सहभागी भएर आएका थिए। मन्त्रालयले परीक्षण र कन्ट्याक्ट ट्रेसिङका क्रममा कुम्भ मेलाबाट फर्किएकामा धेरै संक्रमण फेला पारेको हो।
भारतमा पनि कुम्भ मेलापछि संक्रमण अन्यत्र फैलिएको बताइएको छ। भारतको बिहार, उत्तर प्रदेशमा कुम्भ मेलापछि संक्रमण बढेको पाइएको छ। त्यसको असरमा नेपालका सीमा जोडिएका छिमेकी जिल्लाहरूमा पनि देखिएको बताइएको छ।
मेलामा सहभागी भएका मानिसहरूले अन्य राज्यहरूमा कोरोना लागेको बताइएको छ। नेपालमा पछिल्लो समयमा संक्रमितको संख्या बढेसँगै सिकिस्त बिरामी हुने र मृत्यु हुने संक्रमितको संख्या बढेको छ।
बिहीबार मात्र देशभर ४ हजार ९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन्। ३५ संक्रमितको मृत्यु भएको छ। नेपालमा संक्रमितको मृत्युदर १ दशमलव ०२ प्रतिशत पुगेको छ। देशभर ३४ हजार ११७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।