धनगढी- सुदुरपश्चिममा कैलालीपछि कञ्चनपुरमा पनि बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञाको आदेश जारी भएको छ।
कोरोना संक्रमण तीब्र बनेपछि संक्रमण दर र मृत्युदरलाई समेत मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिने बताए। उनले त्यस अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने बताए।
प्रमुख जिल्ला अधिकारी महतोले अत्यावश्यक सवारी साधन एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधन, दुग्जन्य पदार्थ बोकेका सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी साधन भने सञ्चालनमा रहने बताए।
त्यस्तै सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरेर मात्र भेला हुन पाउने बताइएको छ।
यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रिकालीन लकडाउन मात्रै गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।