काठमाडौं- कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दाङले एक साता लकडाउन गर्ने निर्णय गरेको छ।
वैशाख १७ गते शुक्रबार बिहान ६ बजेदेखि २५ गते शनिबार साँझ ६ बजेसम्म जिल्लामा पूर्ण रूपले लकडाउन गरिएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए।
दाङ जिल्लामा मात्रै ६ सय ७९ जना सक्रिय संक्रमितको संख्या थपिएपछि निषेधाज्ञा जारी भएको हो। सोमबार मात्रै दाङमा २ सय १० जना सक्रिय सक्रमितको संख्या थपिएका छन्।
प्रशासनले जारी गरेको सूचना अनुसार जिल्लामा रहेका सम्पूर्ण विद्यालय एवं कलेजहरूको पठनपाठन र विद्यालयको परीक्षा पूर्ण रुपमा बन्द रहनेछन्। तर, अनलाइन कक्षा सञ्चालन गर्न भने कुनै बाधा पर्ने छैन।
लकडाउनको अवधिभर अति आवश्यकीय बाहेकका सेवाहरू पूर्ण रूपमा बन्द हुने प्रशासनले जनाएको छ। सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछन्।
अति आवश्यकीय सामानहरू खरिद बिक्रीको लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई पसलहरू खुला गर्न सकिने जनाइएको छ। अति, आवश्यकीय सामान ढुवानी गर्न गाडीको प्रयोग गर्नुपर्ने भएमा प्रशासनबाट अनुमति लिई प्रयोग गर्नुपर्नेछ।
अति आवश्यकीय सेवाभित्र खानेपानी, दूध, तरकारी, इन्धन, औषधि, विद्युत आपुर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन र पशुपन्छीको दाना रहेका छन्। पूर्व-पश्चिम राजमार्ग भएर दाङमामा गुड्ने गाडीले जिल्लाबाट यात्रु उठाउन र झार्न निषेध गरिएको प्रशासनले जनाएको छ।
यस्तै, औधोगिक प्रतिष्ठान र निर्माणको काम गर्ने स्थलमा श्रमिकहरूलाई बस्ने, खाने, सुत्ने र स्वास्थ्य उपचारको व्यवस्था भएमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई काम गर्न सकिने बताइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।