काठमाडौं– नेपालमा एकैदिन थप ४ हजार बढीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १४ हजार ६७२ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
यस्तै, एन्टिजेन परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा १ सय ६० जनाको नतिजा पोजेटिभ आएको छ। पछिल्लो २४ घण्टामा १ हजार ९ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पीसीआर र एन्टिजेन परीक्षण समेत गरी पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ। जसमध्ये १२ जनाको पछिल्लो २४ घण्टाकै अवधिमा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
कोरोना संक्रमणबाट हालसम्म देशभर ३ हजार १९४ जनाको मृत्यु भएको छ।
सोमबार थपिएकासहित गरी हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ। हालसम्म कोरोना संक्रमण देखिएकामध्ये २ लाख ७८ हजार ५ सय ६ जना संक्रमण मुक्त भएका मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर २६ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।