धनगढी– कोरोना भाइरस संक्रमण बढ्दै गएपछि पश्चिमी सीमावर्ती जिल्ला कैलालीमा निषेधाज्ञा जारी गरिएको छ।
वैशाख १६ गते (बिहीबार)देखि लागू हुने गरी कैलाली जिल्लाभर १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बिहीबार बिहान ६ बजेदेखि वैशाख २२ गते बुधबार राति १२ बजेसम्मका लागि पहिलो चरणमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए।
निषेधाज्ञाको समयमा औषधि उपचारसहित अत्यावश्यक बाहेकका कामका लागि घरबाट बाहिर निस्किन र हिँडडुल गर्न नपाइने प्रजिअ घिमिरले बताए।
निषेधाज्ञाको समयमा खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक अन्य पसल÷व्यवसाय सञ्चालन गर्न पाइने छैन। खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ।
भारतसँग जोडिएको गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गर्नेमध्ये अधिकांशमा कोरोना पोजेटिभ देखिन थालेपछि कैलालीमा कोरोना संक्रमण बढ्दै गएको छ।
मंगलबार बिहानसम्मको तथ्याङ्कअनुसार कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या ३१० पुगेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।