काठमाडौं- कोरोना भाइरस संक्रमितको उपचारका लागि देशका दुई दर्जन भन्दा बढी अस्पताललाई सरकारले हाई डिपेन्डेसी युनिट (एचडीयू) बनाउन गत कार्तिकमा नै १५ दिनको समय दिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसका लागि आवश्यक बजेट पनि पठाएको थियो।
तर, कार्तिकमा बनाइसक्नु पर्ने एचडीयू अस्पतालहरुले वैशाखको दोस्रो सातासम्म पनि बनाउन सकेका छैनन्। केही अस्पतालले एचडीयू बनाए पनि जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन सकेका छैनन्।
कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंमा १५ दिनभित्रै दुई हजार तथा कोरोना बढी प्रभावित जिल्लामा २ सय वटा हाई डिपेन्डेन्सी बेड बनाउने निर्णय गरेको थियो। त्यसको केही दिनपछि स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालमा बजेटसहित छिटो भन्दा छिटो एचडीयू बनाउन निर्देशन दिएको थियो।
मन्त्रालयले युनिटहरु छिटो सञ्चालनका लागि द्रुत गतिमा काम गर्न सबै अस्पताललाई निर्देशन दिएपनि अस्पतालहरूले अटेर गरेका हुन्।
निर्धारित समयमा अस्पतालले एचडीयू बनाएर सञ्चालनमा ल्याउन नसकेपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई विवरण पठाउन चेतावनीसहितको पत्र पठाएको थियो। मन्त्रालयको पत्रपछि २३ वटा अस्पतालले मात्र एचडीयू निर्माण, सञ्चालनको अवस्था र जनशक्तिको विषयमा विवरण तयार पारेरमा मन्त्रालयमा पठाएका छन्।
मन्त्रालयमा पठाइएको विवरण अनुसार अधिकांश अस्पतालले एचडीयू सञ्चालनमा ल्याउन सकेका छैनन्। निजी मेडिकल कलेजहरुले त खरिद समेत गर्न नसकेको विवरण पठाएका छन्।
२३ अस्पतालमा मात्र पहिलो र दोस्रो चरणमा गरेर ८५० शय्याका एचडीयू बनेर सञ्चालनमा आइसक्नु पर्ने थियो। तर, मन्त्रालयको निर्देशन अनुसार अस्पतालले काम नगर्दा धेरै अस्पतालमा एचडीयू सञ्चालनमा आउन नसकेको हो।
मन्त्रालयका अनुसार २५ शय्याको एचडीयू निर्माणका लागि करिब ३ करोड लागत लाग्छ।
कहाँ कति एचडीयू शय्या?
त्रिवि शिक्षण अस्पताल : १०० (बनाउनु पर्ने) ५० (बनेको संख्या)।
पाटन अस्पताल : १०० (बनाउनु पर्ने) १०० (बनेको संख्या)।
वीर अस्पताल : १०० (बनाउनु पर्ने) ५० (बनेको संख्या)।
परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल : ५० (बनाउनु पर्ने) ५० (बनेको संख्या)। जनशक्ति अभावमा चलेको छैन।
प्रहरी अस्पताल : ५० (बनाउनु पर्ने) ५० (बनेको संख्या)।
कीर्तिपुर आयुर्वेद अस्पताल : ५० (बनाउनु पर्ने) ५० (बनेको संख्या)। जनशक्ति अभावमा चलेको छैन।
धुलिखेल अस्पताल : ५० (बनाउनु पर्ने) प्रक्रिया अगाडि बढेको।
दहचोक अस्पताल : ५० (बनाउनु पर्ने) ५० (बनेको संख्या)।
निजामती अस्पताल : ५० (बनाउनु पर्ने) ५० (बनेको संख्या)।
आर्मी अस्पताल : ५० (बनाउनु पर्ने) ५० (बनेको संख्या)।
सशस्त्र प्रहरी अस्पताल : ५० (बनाउनु पर्ने) ५० (बनेको संख्या)।
नेपाल मेडिकल कलेज : २५ (बनाउनु पर्ने) प्रक्रिया नै सुरु भएन।
काठमाडौं मेडिकल कलेज : २५ (बनाउनु पर्ने) खरिद प्रक्रिया पूरा भएर सञ्चालनको तयारी।
किष्ट मेडिकल कलेज : २५ (बनाउनु पर्ने) प्रक्रिया नै सुरु भएन।
कान्ती अस्पताल : २५ (बनाउनु पर्ने) २५ (बनेको संख्या)।
नरदेवी अस्पताल : २५ (बनाउनु पर्ने) २५ (बनेको संख्या) जनशक्ति अभावमा सञ्चालन हुन सकेन।
मानसिक अस्पताल : २५ (बनाउनु पर्ने) २५ (बनेको संख्या) सञ्चालनमा छैन।
मनमोहन कार्डियाक सेन्टर : २५ (बनाउनु पर्ने) २५ (बनेको संख्या)।
मानव अंग प्रत्यारोपण केन्द्र : २५ (बनाउनु पर्ने) २५ (बनेको संख्या) ।
गंगालाल अस्पताल : २५ (बनाउनु पर्ने) २५ (बनेको संख्या)।
चापागाँउ अस्पताल : २५ (बनाउनु पर्ने) २५ (बनेको संख्या)।
भक्तपुर नगर अस्पताल : २५ (बनाउनु पर्ने) २५ (बनेको संख्या)।
भक्तपुर अस्पताल : २५ (बनाउनु पर्ने) २५ (बनेको संख्या)। जनशक्ति अभावमा सञ्चालनमा आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।