काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका नाममा तोकिएकोभन्दा बढी शुल्क लिने ल्याबलाई कारबाही गरिने चेतावनी दिएको छ।
मन्त्रालयले हाल पीसीआर परीक्षणका लागि सरकारी स्वामित्वका ल्याबहरुमा १ हजार र निजी ल्याबहरुमा २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको जनाएको छ।
तर, केही निजी प्रयोगशालाहरुले संक्रमण रोकथाम लगायतको नाममा थप शुल्क लिएको भन्ने गुनासो आएको मन्त्रालयले एक सूचना जारी गर्दै जनाएको छ।
कोरोना भाइरस संक्रमण भए÷नभएको पत्ता लगाउन गरिने पीसीआर परीक्षणका नाममा थप शुल्क लिन नपाइनेतर्फ मन्त्रालयले सचेत गराएको छ।
प्रयोगशालाहरुले तोकिएकोभन्दा बढी शुल्क लिएको पाइएमा नेपाल सरकार, प्रमुख विशषेज्ञ स्तरीय वैशाख १३ गतेको निर्णयानुसार परीक्षणको सूचीबाट हटाइने मन्त्रालयका सहायक प्रवक्ता डा समिर कुमार अधिकारीले चेतावनी दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।