काठमाडाैं- काेराेना संक्रमण न्युनिकरणकाे लागि जिल्ला प्रशासन कार्यलय, कास्कीले बुधबारदेखि एक साता निषेधाज्ञा आदेश जारी गरेकाे छ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)काे साेमबार बसेकाे बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि वैशाख २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हाे।
प्रशासन कार्यालयले सोमबार साँझ जारी गरेको सूचना अनुसार अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र हिँड्डुल गर्नसमेत राेक लगाइएकाे छ।
यस्तै, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न निषेध गरिएकाे छ।
एम्बुलेन्स, दमकल, शववाहन, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, ग्याँस तथा पेट्रोलियम पदार्थ र निर्माण सामाग्री बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्यूटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सवारी साधनहरु र औषधि तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधनहरु चल्न दिइने छ।
यस्तै, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधनहरु बाहेकका कास्की जिल्ला भित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरू जोर विजोर प्रणालीमा (जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका) सञ्चालन गर्न प्रशासनले आग्रह गरेकाे छ।
विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था,तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट भौतिकरुपमा उपस्थित भई सञ्चालन हुने पठनपाठन लगायत सबै परीक्षाहरु स्थगित गर्ने निर्णयसमेत गरिएकाे छ।
सिनेमा हल, पार्टी प्यालेस, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुट्सल, खेलकुद स्थल, जिमखाना फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर, शैलुन, सुनचाँदी, टेलरिङ र फुटपाथ पसलहरु लगायतका सेवा एवम् स्थलहरु बन्द हुनेछन्।
विवाह, ब्रतवन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख छ । यस्तै, घरमा सञ्चालन गरिने त्यस्ता कार्यक्रममा तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गरी १५ जना भन्दा बढी व्यक्ति सहभागी हुन नपाइने जनाइएकाे छ।
औषधी एवम् स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने, दैनिक उपभोग्य खाद्यान्न पसल, निर्माण सामाग्रीका पसलहरु विहान ५:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म मात्र सञ्चालन हुने र सो बाहेकका अन्य पसलहरु, डिपार्टमेण्टल स्टोर, सपिङ मल, स्टोरहरु सञ्चालन नगर्न आग्रह गरिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।