काठमाडाैं- जारी ईन्डिनय प्रिमियर लिग (आईपीएल)बाट थप ४ खेलाडीले नाम फिर्ता लिएका छन्। कोरोना महामारीको कारण देखाउँदै रविचन्द्र आश्विन, एडम जाम्पा, केन रिचर्डसन र एन्डिुय टाईले नाम फिर्ता लिएका हुन्।
दोस्रो वेभका रुपमा आएको कोरोना महामारीका कारण भारत गम्भीर रुपमा प्रभावित भएको छ। यहाँ दैनिक ३ लाखभन्दा बढी संक्रमित फेला पर्न थालेका छन्। योसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्या बढेसँगै भारतभर अक्सिजनको अभाव भइरहेको छ।
यस्तो बेला आईपीएल सञ्चालन गर्दा झनै कोरोना संक्रमण फैलिने भन्दै खेल तत्काल स्थगित गर्न स्वास्थ्यविद्हरुले आग्रह गरिरहेका छन्। यस्तैमा दिल्ली क्यापिटल्सका स्पीनर आश्विनले पारिवारका केही सदस्यलाई कोरोना संक्रमण भएपछि प्रतियोगितामा नाम फिर्ता लिएका हुन्।
उनले अहिले आफ्नो आवश्यक टोलीलाई भन्दा परिवारलाई खाँचो रहेको समेत बताएका छन्। ‘अहिलेको कठिन परिस्थितिमा परिवारको सहयोग गर्नु मेरो प्रमुख जिम्मेदवारी हो,’ उनले ट्वीटरमा भनेका छन्।
यता, रोयल च्यालेन्जर बैंगलोरका तीव्र गितका बलर रिचर्डसन र स्पीनर एडम जाम्पाले पनि जारी प्रतियोगिता नखेल्ने बताइसकेका छन्। भारतमा कोरोना संक्रमण उच्च दरमा बढेको भन्दै उनीहरुले प्रतियोगिता नखेल्ने निर्णय लिएका हुन्। उनीहरु स्वदेश फिर्ता भइसकेका छन्।
यता, राजस्थान रोयल्सका तीव्र गतिका बलर टाईल पनि कोरोना महामारीकै बीचमा प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन्।
उनी पनि अष्ट्रेलिया फर्किएका छन्। आईपीएल सुरु हुनुअघिनै बेंगलोरका ओपनर जोश फिलिपे, सनराइजर्स हैदराबादका मिचेल मार्श र चेन्नई सुपर किंग्सका जोश हेजलवुडले नाम फिर्ता लिएका थिए।
जारी प्रतियोगितमा चेन्नई शीर्षस्थानमा छ। चेन्नईको ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंक छ। समान खेलमा ४ जित १ हार व्यहोरेको दिल्ली दोस्रो स्थानमा छ।
बेंगलोर पनि समान अंकसहित नेटरनरेटको आधारको तेस्रो स्थानमा छ। मुम्बई इन्डियन्स चौथो, पन्जाब किंङ्ग पाँचौं र राजस्थान छैटौं स्थानमा छन्। राजस्थान र पन्जाब दुबैको ४-४ अंक छ। समान २ अंकका साथ हैदराबाद सातौं र कोलकाता नाइट राइडर्स पुछारमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।