काठमाडाैं- पाकिस्तानले जिम्बावेसँगको तीन टी२० आई सिरिजकाे उपाधि हात पारेकाे छ। अन्तिम खेलमा पाकिस्तानले घरेलु टोली जिम्बावेलाई २४ रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हाे।
जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रनमा समेटिएकाे थियाे।
जिम्बावेका युवा ओपनर वेस्ले मधेभरेले सर्वाधिक ५९ रन बनाए। उनले ४७ बलमा ७ चौका प्रहार गरेका थिए।
त्यस्तै, तडिवनाशे मारुमानीले २६ बलमा ४ चौकासहित ३५ रनमा बनाए पनि हार टार्न सकेन्। यता, ब्रेन्डन टेलरले २२ बलमा २ चाैकासहित २० रन बनाएर आउट भए।
तराईसई मुसकन्डाले १० रन बनाउनबाहेक अन्यले दाेहाेराे अंक छुन सकेनन्।
पाकिस्तानका तीव्र गतिका बलर हसन अलीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। यता, हरिस रौफले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए भने मोहम्मद हसनैनको नाममा १ विकेट रह्यो।
त्यसअघि हरारेमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६५ रन बनायो।
पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान सर्वाधिक ८९ रनमा अविजित रहे। उनले ६० बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
बाबर आजम ४६ बलमा ५ चौकासहित ५२ रनमा आउट भए।यता सर्जेल खानले १८ रन बनाए। जिम्बावेका ल्यूक जोंगवे सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा ३७ रन खर्चिए।
हसन अली प्लेयर अफ द म्याच र मोहम्मद रिजवान प्लेयर अफ द सिरिज चुनिए। पाकिस्तान पहिलो खेलमा ११ रनले विजयी भएकाे थियाे। यस्तै, दोस्रो खेलमा पाकिस्तान १९ रनले पराजित भएको थियो।
पाकिस्तान र जिम्बावेबीच थप दुई टेष्ट सिरिज हुनेछ। पहिलो टेष्ट बिहिबारदेखि सुरु हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।