काठमाडौं- काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।
आइतबार बसेको काठमाडौं, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको संयुक्त बैठकले कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको जानकारी दिए।
यस अवधिमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र प्रदान गरिने छैन। यस्तै, राहदानी वितरण तथा सिफारिस र हातहतियार दर्ता नवीकरण पनि नगरिने जनाइएकाे छ।
संस्था दर्ता तथा नवीकरण र पत्रिका दर्तालाई पनि हालका लागि राेक्का गरिएकाे छ।
यस्तै, शान्ति सुरक्षासँग सम्वन्धित निवेदन तथा मुद्दासँग सम्वन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिसहरु भने दिइने कार्यालयले जनाएकाे छ।
बैठकले बढी भिडभाड हुने कार्यालयलाई पनि साप्ताहिक रुपमा सेवा प्रवाहको कार्यतालिका बनाई आलोपालो विधिबाट सेवा दिन आग्रह गर्ने निर्णय गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।