काठमाडौं- नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना संक्रमितको उपचारकाे लागि तत्कालै अक्सिजनसहित ५० बेडको आइसोलेसन सञ्चालन गर्ने भएको छ।
आइतबार बसेको नगर कार्यपालिका बोर्ड बैठकले उक्त निर्णय गरेको महानगरपालिकाका प्रमुख धवल शम्शेर राणाले जानकारी दिएका छन्।
‘हामी कोरोनाविरुद्धको लडाइ जित्न निरन्तर लागिरहेका छौं, सबै सुरक्षित रहौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
बाँकेको नेपालगञ्जमा केही दिनदेखि कोरोना संक्रमणको अवस्था भयवाह बनेकाे छ। अहिलेकै दरमा काेराेना संक्रमित बढ्दै गए उपचारकाे लागि बेड अभाव हुने भन्दै बिरामीको भर्ना र उपचारलाई व्यवस्थित गर्न सराेकारवालाहरुले आग्रह गरेका छन्।
यस्तै, आपसी समन्वयको अभावमा बिरामीहरू अलपत्र भई छोटो समयमै मृत्यु हुने गरेको, मेडिकल जनशक्तिको अभाव देखिएको, अक्सिजनको अभाव हुनसक्ने सम्भावना देखिएको छ।
यस्तै, स्थानीय सरकारका काम, कारबाही प्रभावकारी नदेखिएको, साधन श्रोतको अभाव देखाई कोभिड नियन्त्रण र उपचारका काम प्रभावकारी बन्न नसकेको र सेन्ट्रल कमाण्डमार्फत् एकद्वार प्रणालीबाट काम हुन नसकेको सरोकारवालाहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।