फाइल तस्बिर
राँझा– बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ। पछिल्लोपटक आइतबार बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ। बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका सय गरी १८० जनाको मृत्यु भएको हो।
हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ।
गुल्मीमा एक संक्रमितको मृत्यु
कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको मृत्यु गएको छ। गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए।
गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो। शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उनको अचानक घरमै ज्यान गएको बताइएको छ।
विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत नयाँ प्रजातिको सङ्क्रमणका कारण गुल्मीमा उनीसँगै दुई जनाको ज्यान गइसकेको छ।
पछिल्लो समयमा गुल्मीमा ३९ व्यक्तिमा कोरोना संक्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ। संक्रमित हुनेमा २२ देखि ५५ वर्ष उमेर समूहका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।