फाइल तस्बिर
टोकियो- जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड-१९ भाइरसको महामारी तीव्ररुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गरेका छन्।
प्रधानमन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन्।
उनले जापानको राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकालको घोषणा गरेका थिए।
सुरुका महिनाहरुमा यहाँ यो महामारी फैलिएको थिएन। प्रभावकारी रुपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो।
तर, पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तीव्र बन्दै गएको बताइएको छ। यो महामारी थप नफैलियोस भन्ने उद्देश्यले यहाँ संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।
प्रधानमन्त्री सुगाले अहिले हिजो घोषणा गरेको संकटकाल आगामी मे ११ सम्म लागू हुने बताइएको छ।
यहाँ संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादकपदार्थ बिक्री वितरण नगर्न कडा प्रतिबन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुने छन्। दोस्रोपटक पनि यहाँ संकटकालको घोषणा भएपछि यहाँका मानिसमा थप त्रास फैलिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।