काठमाडौं- त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले व्याटिङको निम्तो पाएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो। नेपालको टिममा एक परिवर्तन भएको छ। स्पिनर सुसन भारीको स्थानमा तीव्र गतिका बलर अभिनास बोहरालाई ल्याइएको छ।
नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको हो।
नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो। चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो।
यस्तै नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो। एउटा खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो।
पहिलो खेलमा नेदरल्याण्डस्लाई पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च रहेको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् । घरेलु खेल मैदान भएका कारण पनि नेपाल नेदरल्याण्डस्माथि हाबी हुने उनको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।