काठमाडौं– काठमाडौंमा जारी त्रिकोणात्मक टी– २० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्। खेल दिउँसो १ः१५ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुनेछ।
उत्कृष्ट फर्ममा रहेको नेपाल जित निकाल्दै उपाधि घरमै राख्न आतुर छ। यसअघि समूह चरणमा नेपाल र नेदरल्याण्ड्सले एक अर्काविरुद्ध एक एक खेल जितेका थिए।
नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिजमा नेपाल र नेदरल्याण्ड्स शीर्ष दुई स्थानमा रहँदै फाइनल यात्रा तय गर्न सफल भएका थिए।
समूह चरणका खेलमा नेपालले चीन जित र एक हार व्यहोरेको थियो । नेदरल्याण्ड्ससँग एक खेलमा जित र एकमा हार व्यहोरेको नेपालले मलेसियालाई दुबै खेलमा हराएको थियो।
त्यस्तै नेदरल्याण्ड्सले दुई खेलमा जित निकाल्दा एक खेल बराबरी खेल्यो । नेदरल्याण्ड एक खेलमा पराजित भएको थियो।
यसअघि नेपाल र नेदरल्यान्ड्सले ८ वटा टि–२० म्याच खेलेका छन्। जसमध्ये नेदरल्यान्ड्सले ४ र नेपालले ३ खेलमा जित हासिल गरेका थिए । एउटा म्याच भने वर्षका कारण रोकिएको थियो।
अहिलेसम्मको भेटमा नेदरल्यान्ड्स अगाडि भए पनि जारी प्रतियोगितामा भने नेपाल बलियो देखिएको छ।
नेपालले यसअघि दुई पटक टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेपनि त्रिकोणात्मक सिरिज जितेको छैन। त्यसैले नेपालका लागि घरेलु मैदानमा पहिलो त्रिकोणात्मक सिरिज जित्दै इतिहास रच्ने अवसर रहेको छ।
कोरोना भाइरस महामारीका कारण त्रिवि मैदानमा आज पनि दर्शक भने हुने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।