काठमाडाैं- ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहिबार भएकाे खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेकाे छ।
जितका लागि राजस्थानले दिएकाे १ सय ७८ रनको लक्ष्य पछ्याएकाे बैंगलोरले १६.३ ओभरमा कुनै विकेट नगुमाइ १८१ रन बनाएकाे हाे।
बैंगलोरका लागि युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलको शतक बनाए। ५२ बलमा ११ चौका र ६ छक्कासहित १ सय १ रनमा उनी अविजित रहे।
यता, कप्तान विराट कोहली ४७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ७२ रनमा अविजित रहे।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७७ रन बनायो।
राजस्थानका लागि युवा अलराउन्डर शिवम दुबेले सर्वाधिक ४६ रन बनाए। उनले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरे। राहुल टेवाटियाले २३ बलमा ४ चौका र २ छक्कासहित ४० रन बनाएपनि हार टार्न सकेनन्।
यस्तै, कप्तान सञ्जु स्यामसन १८ बलमा २ चौका र १ छक्कासहित २१ रनमा आउट भए। रियान पराग १६ बलमा ४ चौकासहित २५ र क्रिस मोरिस १० रनमा आउट भए। अन्यले भने दाेहाेराे अंक छुन सकेनन्।
बेंगलोरका लागि मोहम्मद शिराजले ३ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चिएका थिए। यता, हर्षल पटेलले पनि ३ विकेट नै लिए। उनले ४ ओभरमा ४७ रन खर्चिए। काइल जामिसन, केन रिचर्ड्सन र वासिन्टन सुन्दरले १/१ विकेट लिए।
जितसँगै बेंगलोर शीर्ष स्थानमा उक्लिएको छ। उसकाे ४ खेलमा ८ अंक छ।
चेन्नई ४ खेलमा ३ मा जित र एकमा हारसहित दोस्रो स्थानमा छ। दिल्ली ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंक भएपनि नेटरनरेटका आधारमा तेस्रो स्थानमा छ। पराजित राजस्थान पुछारमा छन्। उसकाे २ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।