काठमाडौं– जोखिम मोलेर कोरोना संक्रमित बिरामीको सेवामा खटिए बापतको भत्ता माग्दै आन्दोलनमा उत्रिएका डाक्टर अजित मल्लिकले 'न्याय' पाएका छन्।
काठमाडौंको माइतीघर मण्डल छेउमा एक्लै आन्दोलन गर्दै आएका डाक्टर मल्लिकले कोभिड–१९ जोखिम भत्ता पाएका छन्।
आफूलाई ४ महिनासम्म कोरोना संक्रमतिको उपचारमा खटाएर त्रिवि शिक्षण (टिचिङ) अस्पतालले कोभिड–१९ जोखिम भत्ता नदिएको भन्दै उनी गत चैत १२ गतेदेखि आन्दोलनमा थिए।
माइतीघरमा एक्लै आन्दोलनमा रहेको २८ औं दिनमा बुधबार टिचिङ अस्पतालले कोभिड जोखिम भत्ता दिएको डा मल्लिकले बताए। उनले भने, ‘ढिला भएपनि मैले राज्य र सम्बन्धित निकायबाट पाउनु पर्ने अधिकार र सम्मान पाएको महसुस गरेँ।’
डा मल्लिकले भत्ता नपाएर एक्लै आन्दोलनमा रहँदा आफ्नो समस्या सञ्चारमाध्यमले सम्बन्धित निकायमा पुर्याएको भएरै आफूले भत्ता पाउन सकेको पनि बताए। कोभिड जोखिम भत्ता पाएसँगै बिहीबारदेखि आफूले आन्दोलन अन्त्य गरेको पनि उनले जानकारी दिए।
डा मल्लिक त्रिवि शिक्षण अस्पतालमा एकवर्ष करारका लागि मेडिकल अफिसरको रुपमा कार्यरत थिए। उनले अघिल्लो वर्षको चैत महिनादेखि असार मसान्तसम्म ४ महिना कोरोना संक्रमतिको उपचारमा खटिएको बताए।
डा मल्लिक हाल निजामति (सिभिल) अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।