काठमाडाैं- आयाेजक नेपालले थ्री नेसन्स कप टी२० क्रिकेट सिरिजकाे अन्तिम खेलमा मलेसियालाई पराजित गरेकाे छ। साेमबार भएकाे खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेकाे हाे।
नेपालले दिएकाे २१८ रनकाे विशाल लक्ष्य पछ्छाएकाे मलेसिया १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियाे। मलेसियाकाे लागि अमिनुदीन राम्लीले सर्वाधिक ४१ रन बनाए। उनले १८ बलमा एक चाैका र ५ छक्का प्रहार गरे।
यस्तै, अहमद फैजले २१ बलमा ४ चाैका र एक छक्कासहित ३१ रन बनाए।
फित्री सामले १४ र विरेनदीप सिंहलले १२ रन बनाए।
नेपालका लागि साेमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए। साेमपालले ४ ओभरमा २० रन दिए भने सन्दीपले ४२ रन दिए।
यता कमल सिंह ऐरीले २ विकेट लिए। उनले ३ ओभरमा १६ रन दिए। सुशन भारीले ३ ओभरमा ३५ रन दिएर एक विकेट लिए।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियाे।
नेपालका लागि करन केसीले सर्वाधिक ४५ रनको योगदान गरे। उनले ७ छक्का प्रहार गरेका थिए।
यसैगरी असिफ सेखले ३२ बलमा ३ छक्का र ३ चाैकासहित ४२ रन बनाए। ज्ञानेन्द्र मल्लले २५ बलमा ४ छक्का र एक चाैकासहित ४१ रन बनाए।
दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए। यता, कुशल मल्लले १९, कुशल भुर्तेलले १६, विनोद भण्डारीले ८ तथा सोमपाल कामीले दुई रन जोडे।
मलेसियाका लागि अनवर रहमान, फित्री शाम र साद अजिजले समान दुई/दुई विकेट लिए। त्यस्तै, मोहम्मद आफिकले एक विकेट लिए।
चार खेलमध्ये तीन खेल जितेकाे नेपाल ६ अंक जाेडेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेकाे हाे। यस्तै, चार खेलमा द्ईमा जित एकमा हार र एकमा बराबरी खेलकाे नेदरल्याण्ड्सकाे ५ अंक रहेकाे छ। अब आयाेजक नेपालले उपाधिका लागि शनिबार नेदरल्याण्ड्ससँग खेल्ने छ।
यस्तै मलेसियाले भने एकमा जित र एकमा बराबरी खेल्दै ३ अंक बनाएकाे थियाे। मलेसिया प्रतियाेगिताबाट बाहिरिसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।