काठमाडौं- काठमाडौं जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ।
प्रशासनले बुधबार एक विज्ञप्ति जारी गर्दै सभा, सम्मेलन, गोष्ठी, तालिमलगायत भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको हो।
‘मन्त्रीपरिषद्को वैशाख ६ गतेको निर्णयबाट भएको आदेशको बुँदा ७ मा उल्लेख भएको व्यवस्था विपरित कतिपय सरकारी तथा सार्वजनिक निकायहरु, नीजि तथा गैर सरकारी संघ संस्थाहरुले भौतिक रुपमै उपस्थित भएर विभिन्न सभा, भेला, गोष्ठी, सेमिनार,तालिम तथा प्रशिक्षण सञ्चालन गरेको भन्ने गुनासा प्राप्त भएको हुन आएकोले त्यस्ता कार्यक्रमहरु भर्चुअल विधिबाट सञ्चालन गर्न हुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि काठमाडाैंमा कोरोना भाइरसको संक्रमण दर अत्यधिक बढेको भन्दै अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन आग्रह गरेको थियो।
पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।