काठमाडौं- नेदल्यान्ड्स थ्री नेसन्स कप टी२० क्रिकेट सिरिजको फाइनलमा पुगेको छ। बर्षाको कारण प्रभावित मलेसियाविरुद्धको खेल ‘टाई’ भएपछि नेदल्यान्ड्स फाइनलमा पुगेको हो।
बर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १०७ रन बनाएपनि ‘डकवर्थ लुइस मेथड’को आधारमा मलेसियाले १२० रनको नयाँ लक्ष्य पाएको थियो।
तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहँदा बर्षा पुन: सुरु भएपछि खेललाई १० ओभरमा झारिएको थियो।
त्यसपछि, मलेसियाले १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो। तर, मलेसियाले १० ओभर ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल ‘टाई’ भएको हो।
मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोडे। उनले २६ बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै, १७ बलमा २ चौका र १ छक्का प्रहार गरेका अनवर अरुदीनले २३ रन बनाए।
भिरनदीप सिंह १४ रनमा आउट भए। नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले २ विकेट लिए। उनले २ ओभरमा १४ रन खर्चिए।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले मलेसियालाई ११९ रन बनाएको थियो।
नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी परेपछि खेल केही समय रोकिएको थियो। पानी पर्न छाडेपछि १३ ओभरमा खेल घटाएर पुनः शुरु गरिएको थियो।
नेदरल्याण्ड्सले बेन कुपरले ३२ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ५४ रन बनाए। कप्तान सिलारले ३७ रन जोडे। एन्टोनिओस स्टाल १० रनमा अविजित रहे।
मलेसियाका लागि मोहम्मद वाफिकले २ तथा पवनदीप सिंह र विरनदीप सिंहले १/१ विकेट लिए।
जितसँगै ५ अंक जाेडेकाे नेदरल्यान्ड्स रन रेटकाे आधारमा शीर्ष स्थानमा रहँदै फाइनलकाे यात्रा तय गरेकाे छ। यता, नेदरल्यान्ड्सले पहिलाे खेलमा नेपालसँग ९ विकेटकाे हार ब्यहाेरेकाे थियाे भने दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो।
तेस्राे खेलमा नेदरल्यान्ड्सले नेपाललाई ३ विकेटले हराएकाे थियाे भने चाैथाे खेलमा मलेसियासँग बराबरीमा राेकिएकाे छ।
यता, आयाेजक नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले हराएकाे थियाे। त्यस्तै, दाेस्राे खेलमा प्रतियाेगिताकै कमजाेर मानिएकाे मलेसियालाई ९ विकेटले नै हराएकाे थियाे।
तेस्राे खेलमा भने नेपाल नेदल्यान्ड्ससँग ३ विकेटले पराजित भएकाे थियाे। नेपाल ४ अंककाे साथ रनरेटकाे आधारमा दाेस्राे स्थानमा रहेकाे छ।
मलेसियाकाे भने १ अंक रहेकाे छ। उसले आफ्नाे अन्तिम खेल नेपालसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।