काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्व टी२० वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन्। आईसीसीले मंगलबार जारी गरेको नयाँ वरीयतामा भुर्तेल ब्याटिङतर्फ ९३औं स्थानमा छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी थ्रि नेसन्स कप क्रिकेट सिरिज डेब्यू गरेका उनले तीन खेलमा लगातार अर्धशतकीय इनिङ्स खेलेका थिए।
भुर्तेलले नेदरल्यान्ड्ससँगकाे पहिलाे खेलमा ४६ बलमा ५ चाैका र ५ छक्कासहित ६२ रनकाे याेगदान दिएका थिए।
यस्तै, मलेसियाविरुद्धकाे दाेस्राे खेलमा अविजित रहदै उनले ४१ बलमा ३ चौका र ५ छक्कासहित ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।
यता, नेदरल्यान्ड्ससँगकाे तेस्राे खेलमा ४६ बलमा आठ चाैका र एक छक्का प्रहार गर्दै ६२ रन बनाएका थिए। उनकाे ३ सय ५९ रेटिङ अंक छ।
यस्तै, पूर्वकप्तान पारस खड्का वरीयतामा खस्किएकाे छ। उनी नयाँ वरीयता अनुसार ८३औं स्थानमा छन्।
प्रशिक्षणका क्रममा चोट बोकेपछि उनले याे सिरिज गुमाएका थिए। लेग स्पिनर सन्दीप लामिछानेले नयाँ वरीयतमा ७ स्थान सुधार गरेका छन्। उनी ७७औं स्थानमा छन्। उनले ४०४ रेटिङ पाएका छन्।
जारी सिरिजमा लामिछानेले ८ विकेट लिएका छन्। नेदरल्यान्ड्ससँगकाे पहिलाे खेलमा उनले ४ ओभरमा २२ रन खर्चिएर दुई विकेट लिएका थिए।
मलेसियासँगकाे दाेस्राे खेलमा उनले ३.५ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए। नेदरल्यान्ड्ससँगकाे तेस्राे खेलमा लामिछानेले ४ ओभरमा ४८ रन खर्चेर ४ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।