नेपालगञ्ज- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभरि बुधबार (आज) मध्यराति देखि १५ गतेसम्म लकडाउन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यक सेवा बाहेकका कार्य रोक्न प्रतिबन्ध लगाएको छ। अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै प्रकारका कार्य रोक्ने प्रशासनले सूचित गरेको छ।
वित्तीय संस्था, सवारी साधन, पसल व्यवसाय सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक कामबाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ। कोरोना संक्रमण पछिल्लो समय बाँकेमा तीव्र गतिमा फैलिएको छ। नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण पनि देखिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाभित्र अहिलेसम्म ७३५ जना सक्रियम संक्रमित छन्। बिरामीले अस्पतालका बेड भरिभराउ भएको प्रशासनले जनाएको छ। कोरोना फैलावटको साङ्लो तोड़न साथै रोकथामलाई प्रभावकारी बनाउन हिँड्डुलमा प्रतिबन्द गरिएको प्रशासनले जनाएको छ।
सञ्चालन गर्न पाइने सेवा एवं कार्यहरू :
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएम सेवा जस्ता अत्यावश्यक सेवाहरू एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरू र हवाई सेवा।
सञ्चालन गर्न पाइने साधनहरू :
एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी र निलो (कूटनीतिक) प्लेटका सवारी साधनहरू, लामो दूरीका सवारी तथा मालवाहक साधनहरू, निर्माण सामग्री ढुवानीका साधनहरू, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरू, अनुमति (पास) प्राप्त सवारी साधनहरू।
उल्लिखित सेवा एवं कार्यमा संलग्न कर्मचारी/व्यक्तिहरूले अनिवार्य रूपमा कर्मचारी परिचय पत्र एवं अन्य सान्दर्भिक कागजात साथमा राखेको हुनुपर्नेछ। साथै मास्क, भौतिक दूरी लगायत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दूध, ग्यास) का पसल विहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।
आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।