काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको दर उच्च भएमा दैनिक ११ हजार संक्रमित थपिने प्रक्षेपण गरेको छ। मंगलबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी मन्त्रालयले उक्त जानकारी दिएको हो।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले दैनिक ११ हजार संक्रमित थपिँदा करिब १५ प्रतिशत अर्थात् १६ सय बिरामी भर्ना गर्नुपर्ने तथा अक्सिजन आवश्यक पर्ने बिरामी हुनसक्ने प्रक्षेपण गरिएको जानकारी दिए। तीमध्ये तीनदेखि पाँच प्रतिशतलाई आईसीयू सेवा आवश्यक पर्नसक्ने उनको भनाइ छ। मन्त्रालयको प्रक्षेपणमा उक्त अवस्था आए दैनिक ५०० जना संक्रमितलाई आईसीयू आवश्यक गर्ने देखिएको डा. पौडेलले बताए।
नेपालमा अहिलेको अवस्था जस्तै सबै क्षेत्र खुला भएको अवस्थामा संक्रमणको दर उच्च हुने मन्त्रालयको अनुमान छ।
‘अहिलेको अवस्थाजस्तै सबै क्षेत्र खुला भएर मानिसहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेनन् भने दैनिक ११ हजार संक्रमति हुनसक्ने र ५०० जना गम्भीर बिरामी हुनसक्ने अनुमान गरेका छौं,’ डा. पौडेलले भने, ‘तर, हिजो सरकारले जारी गरेको आदेश पूर्णरुपमा लागू हुने हो भने संक्रमण उच्च विन्दुमा नपुग्न पनि सक्छ।’
नेपालमा नयाँ भेरियन्टको संक्रमण पनि फैलिँदै गए असार मसान्तसम्ममा संक्रमितको संख्या छ लाख पुग्नसक्ने उनको भनाइ छ। डा. पौडेलले कोरोना संक्रमणको दर बढ्दै गएकाले जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गर्न पनि सबैलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।