काठमाडौं- नेकपा एमालेको कर्णाली प्रदेश सभा सदस्य (सांसद) देवी ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा झुक्किएर पक्षमा उभिन पुगेको स्पष्टीकरण दिएकी छन् ।
प्रदेश संसदीय दलले सोधेको स्पष्टीकरणको जवाफ दिँदै सांसद ओलीले गल्ती भएको महशुस भएपछि आफ्नो मत सच्याएको उल्लेख गर्दै भ्रममा नपर्न पनि अनुरोध गरेकी छन् ।
नेकपा एमाले संसदीय दलले लगाएको ह्वीप उलंघन गरेको नभइ झुक्किएको बताउँदै आगामी दिनमा त्यस्तो नहुने पनि ओलीको प्रतिवद्धता छ ।
स्पष्टीकरण पत्र लेख्दै ओलीले भनेकी छन्, 'म नेकपा एमाले प्रदेश संसदीय दलका नीति, निर्णय र ह्वीपप्रति प्रतिवद्ध छु । सोही बमोजिम पार्टी प्रदेश संसदीय दलको ह्वीप अनुसारनै मतदान गर्ने ब्यहोरा अनुरोध छ ।
शुक्रबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिएका थिए । नेकपा एमाले प्रदेश संसदीय दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेपनि एमालेका ४ जना सांसद भने 'फ्लोर क्रस' गरी मुख्यमन्त्री शाहीको पक्षमा उभिएका थिए ।
मुख्यमन्त्री शाहीले विश्वासको मत माग्दा सांसद ओली पनि पक्षमा उभिएकी थिइन् । पछि गल्ती भएको भन्दै उनले आफ्नो मत सच्याएकी थिइन् । सोही विषयमा उनलाई एमालेको प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको थियो ।
झुक्किएर विश्वासको मतको पक्षमा उभिएको भनेकी सांसद ओली एमाले 'ओली पक्ष'को कारबाही सूचीमा छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।