काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेको अवस्थामा नियमित तथा आकस्मिक उपचारका लागि जिम्मेवारी बन्न देशभरका अस्पतालहरुलाई आग्रह गरेको छ।
देशका विभिन्न स्थानका अस्पतालहरुले गम्भीर अवस्थाका बिरामीको समेत कोरोना परीक्षण नगरी भर्ना नै नगरेको भन्ने गुनासो आएको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको समेत जनाएको छ।
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले मंगलबार सबै अस्पतालहरुलाई सर्वसाधारणको उपचारमा जिम्मेवार बन्न आग्रह गरेका छन्।
अस्पतालमा आइपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनु पर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको समन्वय गरेर मात्रै पठाउन निर्देशन समेत गरिएको छ।
‘कोभिड १९ को बढ्दो संक्रमणसँगै नियमित तथा आकस्मिक स्वास्थ्य सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा लोहनीले पत्रमा लेखेका छन्, ‘त्यसैले कुनै पनि अस्पतालमा आइपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनु पर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको समन्वय गरेर मात्रै पठाउनु हुन सबै अस्पतालहरुलाई निर्देशन गरिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।