काठमाडाैं- थ्री नेसन्स कप टी-२० क्रिकेट सिरिजअन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेलेपछि नेपालले २०६ रन बनाएको हो। टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै २० ओभर खेल्दै छ विकेट गुमाएर उक्त स्कोर बनाएको हो।
तीन खेलमा लगातार तेस्रो अर्धशतक पूरा गरेका भुर्तेलले ४६ बलमा आठ चाैका र एक छक्का प्रहार गर्दै ६२ रन जोडे। यसअघि उनले सोमबार मलेसिया र शनिबार नेदरल्यान्ड्सविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए।
आजको खेलमा ऐरीले ३० बलमा पाँच छक्का र तीन चाैकासहित ६० रन बनाए। सोमपाल कामीले २१, ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८, विनोद भण्डारीले सात रन बनाए। करन केसीले एक रनमात्र जोड्दा आसिफ सेखले खाता खोल्नसमेत असफल रहे।
नेदरल्यान्ड्सका भिभिएन किङमा र पिटर सिलारले दुई/दुई विकेट लिए। यस्तै बास डे लीडे र अर्यान दत्तले एक/एक विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।