काठमाडाैं– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित निकालेको छ। राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो।
चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रनमा समेटिएकाे थियाे। राजस्थानका ओपनर जोस बट्लरले सर्वाधिक ४९ रन बनाए। उनले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
जयदेव उनाकडले २४ रन बनाउँदा राहुल टेवाटिया २० रनमा आउट भए। यस्तै, शिवम डुबेले १७ रन जोड्दा मनन भोराले १४ रन बनाए। अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
चेन्नईका स्पिनर मोइन अलीले ३ विकेट लिए। उनले ३ ओभरमा ७ रन खर्चे। यता, साम करण र रविन्द्र जडेजाले २-२ विकेट लिए। ड्वेन ब्राभो र शार्दूल ठाकुरले १-१ विकेट लिए।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेकाे चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे। उनले ४ चौका र २ छक्का प्रहार गरे।
यस्तै, अम्बाती रायडुले २७ रन जोड्दा मोइन अलीले २६ रन बनाए। रायडुले १७ बलमा ३ छक्का र अलीले २० बलमा २ छक्का र १ चौका प्रहार गरे। चेन्नईका ड्वने ब्राभो ८ बलमा २ चौका र १ छक्कासहित २० रनमा अविजित रहे। कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैना समान १८/१८ रनमा आउट भए। रविन्द्र जडेजा ८ र साम करन १३ रनमा आउट भए।
राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए। शाकरियाले ४ ओभरमा ३६ रन खर्चे। मोरिसले समान ओभरमा ३३ रन खर्चेर। मुस्ताफिजुर रहमान र राहुल टेवाटियाले १–१ विकेट लिए। यो जितसँगै चेन्नई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। चेन्नईले ३ खेलमा ४ अंक जोडेको छ। राजस्थान ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।