काठमाडाैं- कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी थ्रि नेसन्स कप क्रिकेटका बाँकी खेलमा दर्शकलाई प्रवेश नदिइने भएको छ।
कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित हुन नदिने निर्णय गरेसँगै दर्शकबिना खेल खेलाइन लागेको हो।
‘सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नहुन, दर्शकसहित खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरेसँगै बाँकी खेलमा दर्शकको प्रवेश निषेध गरिएको छ,’ सोमबार साँझ नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
जारी प्रतियाेगितामा नेपाल शीर्ष स्थानमा यथावत् रहेकाे छ। नेपालकाे दुई खेलबाट ४ अंक छ। यता, नेदरल्यान्ड्सकाे २ अंक छ। उसले पहिलाे खेलमा नेपालसँग ९ विकेटकाे हार व्यहाेरेकाे थियाे भने दाेस्राे खेलमा मलेसियालाई १५ रनले हराएकाे थियाे।
मलेसिया अंकविहिन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।