काठमाडाैं- नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल विद्यार्थी संघको कार्यसमिति ३०० जनाको हुनसक्ने संकेत गरेका छन्। तदर्थ समितिमा चलिरहेको संघले गत माघमा एक वर्ष पार गरेको छ। तर, कांग्रेसले संघलाई पूर्णता दिन सकेको छैन।
६ महिनाभित्र महाधिवेशन गरेर नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गर्ने जिम्मेवारी पाएको संघको दुईपटक कार्यकाल थपिइसकेको छ। यसबीचमा पार्टीले संघलाई पूर्णता भने दिन सकेको छैन। संघलाई पूर्णता दिने सन्दर्भमा बोल्दै कांग्रेस नेता महतले भने, ‘३०० जतिलाई तदर्थ समितिमा स्थान दिऔं। अवसर नपाएकालाई समितिमा राखौं।’
केन्द्रीय समितिमा ३०० जना समेट्ने गरी पार्टीमा सैद्धान्तिक सहमति भइसकेको समेत उनले जानकारी दिए। पार्टीका समूहबीच भागबण्डामा कुरा नमिलेरै तदर्थ समितिले पूर्णता पाउन नसकेको महतले संघको ५२औं स्थापना दिवसको कार्यक्रममा बताए।
पार्टीका तीन समूहले भागबण्डा गरी तदर्थ समितिको संख्या टुंगाएका थिए। तीमध्ये पदाधिकारीमा ६ जना चयन भएपनि अन्य मनोनीत हुन सकेका छैनन्। २०७६ को माघमा पार्टीका शीर्ष तहका नेताको बैठकले नेविसंघको तदर्थ समिति एक सय २७ सदस्यीय बनाउने सहमति गरेकोे थियो।
पार्टीका तीन समूहले पदाधिकारीसहित सदस्यमा भागबण्डाको आधारमा सहमति गरिएको थियो। ९ महामन्त्री, उपसभापति र सहमहामन्त्री ६/६ जना बनाउने गरी सहमति बनेको थियो।
पार्टीले दुई चरणमा गरी पदाधिकारी मनोनयन गरेको थियो। २०७६ को माघ १६ मा पहिलो चरणमा राजीव ढुङ्गाना नेतृत्वमा महामन्त्रीमा मनोज वैद्य र महेश्वरी पन्त मनोनयन गरिएको थियो। तीनै जना सभापति शेरबहादुर देउवा निकट हुन्।
दोस्रो चरणमा अन्य समूहका पदाधिकारीलाई पनि तदर्थ समितिमा समावेश गरिएको थियो। दुई उपसभापति र पाँच महामन्त्री थप गरी तदर्थ समिति विस्तार गरिएको थियो। संघको विधानमा १ निर्वाचित र १ मनोनित महामन्त्री हुने व्यवस्था छ। नेता अर्जुननरसिंह केसी र डा शेखर कोइरालाले विधान विपरीत पदाधिकारी संख्या बढाइएको भन्दै तत्कालीन समयमै विरोध जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।