काठमाडाैं- कुशल भुर्तेलको अर्धशतकीय इनिङ्समा नेपालले थ्रि नेसन्स कप टी२० क्रिकेट सिरिजमा लगातार दाेस्राे जित निकालेकाे छ।
साेमबार भएकाे खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको हाे। मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतीमा पूरा गर्याे।
नेपालका लागि कुशलले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।
नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो। शनिबार भएकाे खेलमा उनले नेदरल्यान्ड्सविरुद्ध ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।
त्यस्तै, अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे। उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडे।
उनले कुशलसँग १ सय २ रनको साझेदारी गरे। उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे।
मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन जाेडेकाे थियाे।
मलेसियाका ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २७ रनको योगदान दिए । शर्विन मुनींदि २० रनमा आउट भए भने अन्य ८ खेलाडीले भने दोहोरो अंक छुन सकेनन्।
अनवार अरुद्दीन एज ८, विरानदीप सिंह ६, अमिनुद्दीन राम्ली ५, खिजर हायत ४ र कप्तान अहमद फाइज ३ रनमा आउट भए।
नेपालका तीव्र गतिका बलर करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। सन्दीप लामिछाने २ विकेट लिए । उनले ३.५ ओभरमा २५ रन खर्चिए।
दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, साहब आलम र कुशल मल्लले १/१ विकेट लिए।
जितसँगै नेपाल शीर्ष स्थानमा यथावत् रहेकाे छ। नेपालकाे दुई खेलबाट ४ अंक छ। यता, नेदरल्यान्ड्सकाे २ अंक छ। उसले पहिलाे खेलमा नेपालसँग ९ विकेटकाे हार व्यहाेरेकाे थियाे भने दाेस्राे खेलमा मेलिसियालाई १५ रनले हराएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।