काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु पहिलेभन्दा केही बिग्रेको स्वीकारेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अरु पार्टीसँग सहकार्य गर्दा त्यही रोग आफूलाई सल्किएको उल्लेख गरे।
‘हामी माथिका र बीचका नेता बिग्रेका पक्कै छौं, कति बिग्रिएका छौं अब थाहा हुन्छ,’ उनले भने, ‘हामी यो बीचमा कहीँ न कहीँ धुलोमैलो लागेको जस्तो भएका छौं। अरुसँग सहकार्य गर्छौं भनेर उनीहरुको रोग हामीलाई सल्केको छ। त्यो रोग निको पार्ने भनेको जनतातिर फर्केरै हो।’
आफूले जस्तो पीडा र तीव्र अनुभूति अरुले कसैले गर्न नपाएको बताउँदै उनले आउने निर्वाचनसम्म फेरि २०६४ सालको अवस्थामा माओवादीलाई पुर्याउन सकिने विश्वास व्यक्त गरे। उनले भने, ‘एक नम्बर पार्टी बनाउन सम्भव छ, मलाई विश्वास छ। सर्त के हो भने तपाईंहरुले प्रण गर्नुपर्ने हुन्छ।’
आफूहरु दुःखमा साथ दिने जनताको घरमा फेरि पुग्ने उनले बताए। जनताको चहर्याएको घाउमा मल्हमपट्टी गर्न तयार रहेको उनले उल्लेख गरे।
नेता र कार्यकर्ताका हिसाबले धनी पार्टी आफ्नो नै भएको दाबी गर्दै अध्यक्ष दाहालले पार्टीलाई पुनःजीवन दिन लागिपरेको बताए।
एकथरीले प्रचण्डको आकर्षण सकियो भनेर हल्ला चलाएको बताउँदै गाउँमा आफूप्रति जनताको आकर्षण कायम रहेको उनको बुझाइ छ। उनले भने, ‘प्रचण्ड सिद्धियो अब पार्टी सकाइदिन सकिन्छ भन्ने प्रचार गर्छन् एकथरीले। तपाईंहरुलाई पनि के भएको हेर्दा-हेर्दै भन्ने लागेको होला।’
आफू अहिले देशव्यापी रुपमा चेक गर्न हिँडेको उनको भनाइ छ। ‘हाम्रो मुद्दाप्रति वितृण्णा भएकै हो? हाम्रा नेताप्रति भरोसा टुटेकै हो त? म त्यो चेक गर्न हिँडेको छु,’ उनको भनाइ छ।
जनताको गुनासो नेतृत्व आफूकहाँ आउँदैन भन्ने रहेको तर अझै विश्वास कायम रहेको उनले बताए। दाहाले थपे, ‘यी जाली फटाहाले माओवादी सिद्धियो, प्रचण्ड सिद्धियो भन्ने स्यालहुइँया गरेका छन्। तर, तल त्यस्तो छैन। आकर्षण कायम छ। जनताले हामीलाई भरोसा गरेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।