काठमाडाैं- पाहुना टाेली पाकिस्तानले घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको टी-२० क्रिकेट सिरिज जितेको छ।
शुक्रबार राति भएको चौंथो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज ३-१ ले आफ्नो बनाएको हो। दक्षिण अफ्रिकाले दिएको १ सय ४५ रनको लक्ष्य पाकिस्तानले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानलाई अन्तिम दुई बलमा दुई रन चाहिएको थियाे।। उक्त अवस्थामा मोहम्मद नवाजले छक्का प्रहार गर्दै पाकिस्तानको सिरिज पक्का गराएका थिए।
उनी २१ बलमा १ चौका र २ छक्कासहित २५ रनमा अविजित रहे। यता, फकर जमानले ६० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
मोहमद नवाजले २१ बलमा १ चौका र २ छक्कासहित अविजित २५ रन जोडे। यस्तै, कप्तान बाबर आजमले २४ रन बनाए। दक्षिण अफ्रिका सिसान्डा मागला र लिजाड विलियम्सले २/२ विकेट लिए। विलियम्सले ३.४ ओभरमा ३९ रन खर्चिए। मागालाले ४ ओभरमा ३३ रन खर्चिए।
यसअघि सेन्चुरियनमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४४ रन बनायाे। दक्षिण अफ्रीकाका रस्सी भानडेर डुसेनले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
यस्तै, ओपनर जानेमान मलान २८ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए। एडिन मार्क्रमले ११ रन बनाए।
पाकिस्तानका फाहिम आश्रफ र हसन अलिले ३/३ विकेट लिए। उनीहरुले क्रमश: ४/४ ओभरमा १७ र ४० रन खर्चिए। २ विकेट लिएका हरिस रौफले ३.३ मा १८ रन खर्चिए। पहिलो खेलमा पाकिस्तान ४ विकेटले विजय भएकाे थियाे। यस्तै, दोस्रो खेलमा ६ विकेटले पराजित हुँदा तेस्रो खेलमा पाकिस्तान ९ विकेटले विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।