काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहले गरेका निर्णय कार्यान्वयन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ।
मन्त्रालयले गरेको वर्तमान अवस्थाको समीक्षा बैठकले थप सजगता अपनाउन अनुरोध गरेको हो। स्थानीय तहबाट तय गरिएका स्वास्थ्य मापदण्डको पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।
शिक्षण संस्थाभित्र सभा तथा भीडभाड नगर्न सुझाइएको छ।
शिक्षा मन्त्रालयको समीक्षा बैठकले गरेका निर्णयः
१) सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएका थप मापदण्डको पनि पालन गर्नु गराउनु हुन तथा शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धुने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनुहुन।
२) शिक्षण संस्थाहरू सञ्चालन गर्दा भीडभाड नहुने गरी विद्यार्थीको संख्या एवं संस्थाको मौजुदा पूर्वाधार एवं संस्था रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्थासमेतलाई विचार गरी स्थानीय तहसँग समन्वय एवं परामर्श गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाइ सम्बन्धित संस्थाले सिकाइ क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था मिलाउनु हुन। तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्नु, नगराउनु हुनका साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी भएको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्नुहुन।
३) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, सहर वा स्थान विशेषको हकमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम त्यस्ता विद्यालयहरू बन्द वा तोकिए बमोजिम सञ्चालन गर्नुहुन र बन्द गरिएका विद्यालयहरू पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ मा तोकिएका विधि तथा प्रक्रियाहरूको पालना गर्नुहुनका साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्थाबमोजिम, सिकाइ क्रियाकलापहरूलाई निरन्तरता दिनुहुन।
(दीपक शर्मा, सहसचिव एवं प्रवक्ता)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।