काठमाडाैं- काठमाडाैं महानगरपालिकाले विद्यालयमा कोरोना संक्रमण देखिए एक हप्तासम्म बन्द गर्न निर्देशन दिएको छ।
महानगरले शुक्रबार महानगरभित्र सञ्चालित सबै विद्यालयहरुलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। बिहीबार महानगरपालिकाका प्रमुखस्तरीय निर्णय भएबमोजिम विद्यालयहरुलाई उक्त परिपत्र गरिएको जानकारी दिइएको छ।
'महानगरपालिका प्रमुखस्तरको मिति २०७८/०१/०२ गतेको निर्णयअनुसार कोभिड-१९ संक्रमणको बढ्दो क्रम देखिएकोले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नु/गराउनु हुन अनुरोध छ,' परिपत्रमा उल्लेख छ।
संक्रमण नभएका विद्यालयहरुमासमेत स्वास्थ्यका मापदण्ड, सामाजिक दूरीलगायत अनिवार्य पालना गर्न तथा मास्क लगाउने तथा साबुन पानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत व्यवस्था गर्नसमेत महानगरले अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।