काठमाडौं– नेपाल कोरोना संक्रमणको नयाँ चरण र नयाँ जटिलतामा प्रवेश गरेको भन्दै सचेत हुन चिकित्सकहरूले आग्रह गरेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले नेपालमा कोरोना महामारीको नयाँ भेरिएन्टहरू देखिन थालेको र युवा तथा बालबालिकाहरूमा पनि संक्रमण बढ्न थालेको भन्दै नेपाल संक्रमणको नयाँ जटिलतामा प्रवेश गरेको बताएका हुन्।
कोरोना संक्रमणबारे सचेत नभए जटिल अवस्था सिर्जना हुनसक्ने चेतावनीसमेत उनले दिए। ‘हामी कोरोना संक्रमणको नयाँ चरण र नयाँ जटिलतामा प्रवेश गरिसकेका छौं,’ डा पौडेलले भने, ‘युके भेरिएन्ट र भारतमा हुनसक्ने भेरिएन्ट पनि हाम्रोमा प्रवेश गरिसकेको छ, हामी सबै नागरिकहरू सचेत भएनौं भने यो महामारीले हामीलाई धेरै असर पार्न सक्छ।’
डा पौडेलका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्यांकले पनि पछिल्लो समय भर्ना हुने ५० वर्ष भन्दा कम उमेर समूहका संक्रमितहरू आईसीयूमा भर्ना हुने दर ५० प्रतिशत रहेको छ।
पछिल्लो समय युवा तथा बालबालिकाहरूमा नयाँ भेरिएन्टको कोरोना संक्रमणको दर बढेको डा पौडेलको भनाइ छ। ‘नयाँ भेरिएन्ट र संक्रमितहरू ४० वर्षभन्दा कम उमेरका बढी देखिएको छ,’ उनले भने, ‘कतै हाम्रो स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिने त होइन भन्ने डर पनि छ।’
उनले फेरि बन्दाबन्दीको अवस्था आउन नदिन सबैले घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, सामाजिक दूरी काय गर्ने र जनस्वास्थ्यको मापदण्ड पालना गर्न सकिने स्थानमा मात्र जाने तथा अनावश्यक भीडभाड र यात्रा गर्न नहुने बताए।
डा पौडेलले बालबालिकाहरूलाई पनि कोरोना संक्रमणबाट जोगाउन अभिभावकहरूले विषेश ध्यान दिनुपर्ने सुझाए। सार्वजकि यातायतामा संक्रमण एकअर्कालाई सर्ने भएकाले सार्वजनिक यातायातमा यात्रा गर्दा दूरी कायम गरी विशेष सावधानी अपनाउनुपर्ने डा पौडेल बताउँछन्।
‘म भन्दा अर्को व्यक्ति संक्रमित हुन सक्छन् है भन्ने सोचेर सचेत हुने बेला भएको छ,’ उनले भने, ‘आफू सुरक्षित भएर आफ्नो परिवारलाई सुरक्षित राख्न सकियो भने मात्र हामी यो संक्रमण रोक्न सक्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।