काठमाडाैं- नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० सिरिजका लागि १५ सदस्यीय नेपाली टाेलीको घोषणा गरेको छ।
क्यानले बुधबार बन्द प्रशिक्षणमा रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम १५ सदस्यीय टाेली घोषणा गरेको हो। बन्द प्रशिक्षणमा रहेका ललित नारायण राजवंशी, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र लोकेश बम भने टाेलीमा परेनन्।
आयोजक नेपालसहित नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज क्रिकेट प्रतियोगिता आगामी वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
केही दिनअघि मात्रै मुख्य प्रशिक्षकको जिम्मा पाएको डेभ वाटमोरको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।
सिरिज 'डबल राउण्ड रोविन'मा सञ्चालन हुनेछ। अर्थात् एक देशले अर्को देशसँग दुई खेल खेल्नेछ। शीर्ष दुई देश फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते हुनेछ। खेल दिउँसो १:१५ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ।
यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ।
क्यानका अनुसार सिरिजको सम्पूर्ण खेल विभिन्न टेलिभिजनबाट विश्वका १ सय ४१ देशबाट प्रत्यक्ष हेर्न सकिनेछ। नेपालमा हिमालयन टेलिभिजन र ओआरएसबाट लाइभ हेर्न सकिन्छ।
नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी,शाहब आलम।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।