काठमाडौं- नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुने मध्येमा ६० वर्षभन्दा माथिका धेरै देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म सबैभन्दा धेरै, ७० वर्ष माथिका एक हजार ९१८ जनाको मृत्यु भएको छ।
नेपालमा अहिलेसम्म कोरोनाबाट तीन हजार ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसमध्ये ९ वर्षमुनिका २४, १० देखि १९ वर्षका २२, २० देखि २९ वर्षका ८५, ३० देखि ३९ वर्षका १८२, ४० देखि ४९ वर्षका ३१४ र ५० देखि ५९ वर्षका ५१३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा मात्र ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि सोमबार १३ जना संक्रमितको मृत्यु भएको थियो। मंगलबार ४ हजार ३८३ जनाको पीसीआर परीक्षण गर्दा ४६० जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, ८१७ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपाल हालसम्म २ लाख ८० हजार ९८४ जनामा कोरोना संक्रमण भएको छ। यसमध्ये २ लाख ७४ हजार ३१८ जना संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा १५३ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ। कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ। काठमाडाैं भित्रिने नाकाहरूमा कडाई समेत गर्न थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।