काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले मंगलबार (आज) बाट कोरोना संक्रमित बिरामीलाई मात्र भर्ना लिने निर्णय गरेको छ।
कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि अस्पतालले अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो। अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कोरोना संक्रमितको व्यवस्थापन गर्न अन्य बिरामीलाई भर्ना नलिने निर्णय गरिएको जानकारी दिए।
‘कोरोना संक्रमित बढेकाले हामीले इन्डोर सर्भिस कोभिडको मात्र सञ्चालन गर्ने निर्णय गरेका हौं,’ डा राजभण्डारीले भने, ‘संक्रमित बढिरहेका छन्, अन्य बिरामीलाई भर्ना गर्दा उनीहरूमा पनि संक्रमण सर्ने जोखिम हुन्छ। त्यसैले कोभिडबाहेकका बिरामीलाई भर्ना नगर्ने निर्णय गरेका छौं।’
अन्य सरुवा रोगका बिरामी भर्ना हुनैपर्ने अवस्थामा आए उनीहरूलाई वीर र पाटन अस्पतालमा व्यवस्थापन गरिने अस्पतालका प्रमुख कन्सलटेन्ट डा अनुप बास्तोलाले जानकारी दिए।
उनका अनुसार कोरोना संक्रमितको चाप बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले नै शुक्रराज अस्पताललाई कोरोना संक्रमितलाई मात्र भर्ना गरेर उपचार तथा व्यवस्थापन गर्न निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनअनुसार अस्पतालले आजदेखि कोरोना संक्रमितलाई भर्ना लिएर उपचार सेवा दिन थालेको हो।
डा राजभण्डारीका अनुसार अस्पतालमा हाल उपचाररत रहेका १८ जना कोरोना संक्रमितमध्ये ११ जना बिरामी आईसीयू तथा भेन्टिलेटरमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।