काठमाडौं- कोभिड-१९ (कोरोना) भाइरस संक्रमणको दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनचेतनामूलक अभियान सुरु गरेको छ। महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउन आजदेखि अभियान सुरु गरेको हो।
'ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना' भन्ने मूल नाराका साथ पुरानो बसपार्कबाट उक्त अभियान थालनी गरिएको हो। ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड-१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान आजदेखि सुरू गरिएको बताए। उनले कोभिड-१९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले बेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्नेमा जोड दिए।
कार्यक्रममा उपस्थित यातायात व्यवसायी, मजदुर संघ/युनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूद्धारा सवारीसाधनमा यात्रुले देखिनेगरी सवारीको ढोका नजिक स्टिकर टाँस गर्नुका साथै पैदलयात्री, सवारीचालक तथा यात्रुहरूलाई सर्जिकल मास्कसमेत वितरण गरिएको थियो।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा आ-आफ्नो विचार राखेका थिए। आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न तत्पर रहेको उनीहरूले उल्लेख गरे।

सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाएर भौतिक दूरी कायम गरी सवारीसाधनको प्रयोग गर्न महाशाखाले विशेष अनुरोध गरेको छ। 'सवारीसाधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौँ' लेखिएको स्टिकर उपत्यकामा चल्ने सम्पूर्ण माइक्रो तथा बसहरूमा टाँस गरिने महाशाखाले जनाएको छ।
कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य-मुख्य बसपार्क एवं भीडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउने तथा सवारीसाधनहरुमा हुने भीडभाड कम गराउन महाशाखाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।