ढाका- बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई कोरोना संक्रमण भएको छ। उनमा आइतबार संक्रमण पुष्टि भएको ढाका ट्रिब्यूनले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका जनसम्पर्क अधिकारी मैदुल इस्लाम प्रधानका अनुसार बंगलादेश नेशनलिष्ट पार्टी (बीएमपी)को प्रमुखसमेत रहेकी जियाको नमुना शनिबार परीक्षणको लागि पठाइएको थियो।
‘आइतबार उनको रिपोर्ट पोजेटिभ आएको छ। उनको नाम स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांकमा अद्यावधिक गरिएको छ,’ प्रधानले भने।
समाचारमा जनाइएअनुसार जियाले आफन्तहरुलाई गतहप्ता भेट गरेकी थिइन्। उनीसँग भेट गरेका सबैको कोरोना परीक्षण गरिने भएको छ।
यद्यपि, पार्टीका नेताहरूले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छैनन्। बीएनपीको प्रेस शाखाका सदस्य एस कबीर खानले डेली स्टारलाई भने, ‘खालिदा जियाले चिकित्सक डा मामुनसँग भेटेको मलाई थाहा छ। यो नियमित चेकजाँच हो। हामीलाई उनी संक्रमण भएको बारेमा कुनै जानकारी छैन।’
तीन पटक प्रधानमन्त्री भइसकेकी जियालाई भ्रष्टाचारको दुई मुद्दामा १७ वर्ष कैद सजाय सुनाइएको छ। जुन फेब्रुअरी २०१८ देखि चलिरहेको छ। तर, एकवर्ष पहिले कोरोना महामारीकै समयमा अस्थायी रूपमा जेलबाट उनलाई रिहा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।