काठमाडौं- सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपीएफले उपाधि जितेको हो।
त्रिवि क्रिकेट मैदानमा विभागीय क्लब एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्न सफल भयो। १०७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपीएफले १६.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो। एपीएफकी ज्योति पाण्डेले ३८ बलमा पाँच चौका प्रहार गर्दै ३६ रन बनाइन्। त्यस्तै कप्तान सीता राना मगरले रनआउट हुनुअघि २७ रन बनाइन्। इन्दु बर्माले अविजित १९ रन बनाउदा ममता चौधरीले नटआउट १५ रन बनाइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०६ रन बनाएको थियो। सुदूरपश्चिम प्रदेशका लागि विन्दु रावलले अविजित ४४ रन बनाइन्। उनले ५४ बलमा चार चौका प्रहार गरिन्। त्यस्तै डोली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रन बनाइन्। बलिङतर्फ रेखा रावल, करुणा भण्डारी, सुष्मा श्रेष्ठ, सीता राना मगर र बिनु बुढाले समान एक/एक विकेट लिए।
प्रतियोगितामा अपराजित रहँदै एपीएफले उपाधि जितेको हो। अंक तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले चार खेलबाट चारै खेलमा जित निकाल्दै आठ अंक बनाएर फाइनलमा स्थान बनाएको थियो। चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै छ अंक बनाएर सुदूरपश्चिमले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको थियो।
प्रतियोगिताको विजेता एपीएफ टिमले तीन लाख र उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।