काठमाडाैं- ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले फाइनलमा प्रतिस्पर्धा गर्दैछन्।
त्रिवी क्रिकेट मैदानमा शनिबार उपाधिका लागि विभागीय क्लब एपीएफले सुदूरपश्चिमसँग खेल्न लागेको हो। खेल दिउँसो १ बजे सुरु हुनेछ।
सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफ पहिलो पटक भएको प्रतियोगिताको उपाधि जित्न चाहन्छ। यता, सुदूरपश्चिम प्रदेश पनि एपीएफलाई पराजित गर्ने लक्ष्यसहित मैदानमा उत्रिने छ।
एपीएफले लिग चरणको खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेको हो। अंक तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले चार खेलमा आठ अंक बनायो।
यता, चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर सुदूरपश्चिमले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। यता, लिगको तेस्रो स्थानमा रहेको प्रदेश १, ललितपुर मेयर्स एघार टिम र लुम्बिनी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ।
लिग चरणको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३७ रनले पराजित गरेको थियो। प्रतियोगिताको विजेता टिमले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्लेयर अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याट्सवुमनले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।