काठमाडौं–वर्तमान सरकार बलात्कारीको संरक्षणमा लागेको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ। केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता विगत ३ वर्षमा लगातार यस्ता घटना दोहोरिएबाट सरकार नै अपराधीका संरक्षणमा लागेको पुष्टि हुने नेविसंघको दाबी छ। 
यस्ता घटना बढ्दै जाँदा जनताको सुरक्षा गर्ने सवालमा ओली सरकार उदासिन भएको पुष्टि भएको संघका अध्यक्ष राजिब ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हालै मुगुको सोरु गाउँपालिका–८ स्थित एक विद्यालयमा अध्ययनरत ९ वर्षीया बालिकाको बलात्कार पछि हत्या गर्ने दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नसमेत नेािसंघले माग गरेको छ। बालिकाको शव कर्णाली नदीमा फ्यालिएको अवस्थामा फेला परेको थियो।
निर्मला पन्त, सम्झना वि. क. र भागिरथी भट्टको बलात्कार गरी हत्या गरिँदा हत्यारा पक्रनुको सट्टा बलात्कारी र हत्याराको संरक्षण गर्न सरकार नै लागि परेकाले यस्ता घटनाले निरन्तरता पाएको नेविसंघको ठहर छ।
बलात्कारी र हत्यारालाइ संरक्षण गरी सत्ताको आयु लम्ब्याउने खेलमा नलागी जनताको जिउधन रक्षा गर्ने सवालमा गम्भीर भएर लाग्नसमेत नेविसंघले ओली सरकारलाई आग्रह गरेको छ।
बलात्कारी र हत्यारालाई संरक्षण गर्ने दिशामा सरकार अघि बढे सडक आन्दोलन गर्ने चेतावनीसमेत नेविसंघले दिएको छ।
 

                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।