काठमाडाैं- विभागीय टोली एपीएफले ललिपुर मेयर्सकप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ललिपुर मेयर्स ११ को टोलीमाथि १० विकेटको फराकिलो जित निकाल्दै एपीएफ फाइनलमा पुगेकाे हाे।
एपीएफ एक खेल अगावै अन्तिम दुईमा प्रवेश गरेको हो। एपीएफलले अन्तिम खेल लुम्बिनी प्रदेशसँग खेल्न बाँकी रहेको छ। यसअघि भएका खेलमा प्रदेश १ र सुदूर पश्चिम प्रदेशलाई हराएको थियो।
ललितपुरले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गरेकाे थियाे। एपीएफको जितमा राजमती ऐरीले अविजित ३३ रन जोड्दा इन्दु बर्माले २८ रनमा अविजित रहिन्।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो। कन्चन श्रेष्ठले सर्वाधिक १७ रन जोड्दा कप्तान सरस्वती चौधरीले १२ रनमा पवेलियनमा फर्किएकी थिइन्। सन्तोषी चौधरी १३ रनमा अविजित रहिन्। अनुराधा चौधरीले ८ रन जोड्दा अन्यले फितलो ब्याटिङ गरे।
ललितपुरलाई सस्तैमा समेट्न एपीएफकी बिना बुढाले ४ विकेट हात पार्दा रेखा रावलले २ विकेट लिइन्। यस्तै कप्तान सिता राना मगर, सुमन विष्ट र करुणा भण्डारीको नाममा १/१ विकेट लिएकी थिइन्। जितसँगै एपीएफले ३ खेलमा ६ अंक जोडेको छ। एपीएफ शीर्ष स्थानमा रहेको छ। पराजित ललितपुरले ३ खेलमा २ अंक जोडेको छ।
प्रतियोगिता अन्तर्गत मंगलबारकै अर्को खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ४० रनले हराएको छ। त्रिवि मैदानमा भएको खेलमा १ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र ८९ रन जोड्न सक्यो।
कप्तान रुविना क्षेत्रले सर्वाधिक २७ तथा अप्सरी वेगमले २२ रन जोड्दा अन्य ब्याट्सम्यानले राम्रो अंकको स्कोर छुन सकेनन्। प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशका लागि लक्ष्मी साउदले सर्वाधिक ४ विकेट निकाल्दा कविता कुंवर र कवित जोशीले समान २/२ विकेट निकाल्दा सुनिता लुहारको नाममा एक विकेट रह्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन जोडेको थियो। सुदूरपश्चिमका लागि बिन्दु रावलले ५२ रनको अर्धशतकीय पारी खेलिन्। यस्तै रेवती धामीले ३० रन जोड्दा कविता जोशीले २१ रन जोडिन्।
प्रदेश-१ की शबनम राईले २ विकेट निकाल्दा ज्योति दनवारले १ विकेट आफ्नो नाममा लेखाइन्। प्रतियोगितामा बुधबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।