काठमाडौं- भारत सरकारले उदयपुरको त्रियुगा नगरपालिका गाईघाटस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि चार करोड २९ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
उक्त सहयोगसम्बन्धी सम्झाैतापत्रमा काठमाडौंस्थित भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच सोमबार हस्ताक्षर भएको छ। दूतावासको विकास साझेदारी तथा पुननिर्माण प्रभागका प्रमुख, त्रियुगा नगरपालिकाका मेयर र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
दूतावासका अनुसार नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत अनुमानित चार करोड २९ लाखको लागतमा यस परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अघि बढाइनेछ। भारत सरकारले सन् २००३ यता साविकको ‘साना विकास परियोजना’ र हालको ‘उच्च प्रभाव सामुदायिक परियोजना’अन्तर्गत ५२० भन्दा धेरै परियोजना अघि बढाएकोमा नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ, तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४४८ वटा परियोजना सम्पन्न भइसकेका छन्। उदयपुर जिल्लामा निर्माण सम्पन्न भएका सात र निर्माणका विभिन्न चरणमा रहेका आठ गरी प्रदेश १ मा मात्रै ६५ वटा यस्ता परियोजना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।