काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोपको दाेस्राे मात्रा (डोज) वैशाख ७ देखि ११ गतेसम्म दिने भएको छ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को साेमबार बसेकाे बैठकले माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो डोज लिएका व्यक्तिलाई दोस्रो डोज दिने निर्णय गरेकाे हाे।
पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने जनाइएकाे छ। सोहीअनुसार स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनुपर्ने हुन्छ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ।
कसको पालो कहिले?
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरुले वैशाख ७ गते।
माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुले वैशाख ८ गते।
माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरुले वैशाख ९ गते।
माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुले वैशाख १० गते।
माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरुले वैशाख ११ गते।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।