काठमाडौं- काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा अनिवार्य हेल्थ डेस्क राखिने भएको भएको छ। आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका छिर्ने नाकाका नगरपालिकामा स्वास्थ्य जाँच गर्न हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार हेल्थ डेस्कमा नै एन्टिजेन परीक्षण गरिनेछ। परीक्षण नेगेटिभ देखिए तर, लक्षण शंकास्पद देखिएमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाउनसमेत समितिले निर्देशन दिएको छ।
एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्था मिलाउने र सम्पर्क व्यक्ति तोक्ने जिम्मा सम्बन्धित स्थानिय तहलाई दिइएको उनले जानकारी दिए। त्यस्तै काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।
‘यसअघि सबै महानगर-नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन र क्वारेन्टिन सेन्टरहरुलाई अद्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ-आफ्नो नगरपालिकाभित्र कम्तीमा एक-एक आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने छ,’ निर्णयमा भनिएको छ।
स्वास्थ्यका मापदण्ड पालना नगरे दण्ड जरिबाना गर्ने जनाइएको छ। यस्तै सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न समितिले आग्रह गरेको छ।
यता, जनचेतना प्रचार प्रसार गर्न शिक्षक, नर्स, स्वास्थ्यकर्मीलाई परिचालन गर्ने जनाइएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।