काठमाडौं– विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
आइतबार आफ्नो दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गरेको हो। यसअघि शनिबार भएको उद्घाटन खेलमा एपिएफले प्रदेश १ लाई आठ विकेटले पराजित गरेको थियो।
आफ्नो दोस्रो खेलमा लगातार जित निकाल्ने क्रममा एपीएफले सुदूरपश्चिमलाई सहज रुपमा पराजित गरेको हो। १२८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको सुदूपश्चिमले १९ ओभरमा सबै विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो।
सुदूरपश्चिमका लागि तीन जना खेलाडीले मात्रै दोहोरो अंक बनाए। सुनिता लुहारले २३, डोली भट्टले १६ र रेवती धामीले १२ रन जोडे। सुदूरपश्चिमलाई सस्तैमा समेट्न एपीएफकी विनु बुढाले तीन, सीता राना मगर र सुमन विष्टले समान २–२ विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १२७ रन बनाएको थियो। एपीएफकी ओपनर ज्योति पाण्डेले अर्धशतक बनाइन्। उनले ५० बलमा सात चौका प्रहार गर्दै ५९ रन बनाइन्। त्यस्तै, सरिता मगरले अविजित ३५ र कप्तान सीता राना मगरले १६ रन बनाइन्।
सुदूरपश्चिमको यो दोस्रो खेलमा पहिलो हार हो। यसअघि सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स एघार टिमलाई सात विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।